काठमाडौं, फागुन ४ गते
काठमाडौँ महानगरपालिकाले सानो गौचरण फुटबल स्टेडियमको पुनर्निर्माण गराइरहेको छ। २०८२ सालको चैत मसान्तसम्ममा स्टेडियम तयार पार्ने गरी काम भइरहेको छ । यस परिसर भित्र ९६ X ६२ मिटरको खेलमैदान रहनेछ ।
यहाँ पानी पुनर्भरण प्रणाली पनि निर्माण गरिनेछ। मैदान वरिपरि सीमा प्रखाल, मैदानमा कृत्रिम घाँस, २८ वटा चार पाङ्ग्रे अनि १७८ वटा दुई पाङ्ग्रे क्षमताको पार्किङ, स्टेडियमको भुइतलामा महिलाका लागि ३२ वटा र पुरुषका लागि १६ वटा शौचालय तथा पहिलो तलामा महिलाका लागि सात र पुरुषका लागि पाँचवटा शौचालय रहनेछन् । स्टेडियम निर्माणको जिम्मा शुभ कन्स्ट्रक्सनले पाएको छ। आयोजनाको सम्झौता रकम भ्याट बाहेक १६ करोड ४७ लाख २० हजार ८५१ रुपैयाँ ३५ पैसा रहेको छ। २०८२ चैत मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको हो।
५ वडामा बनिरहेको स्टेडियमको क्षमता १५०० दर्शक रहनेछ। यहाँ फिजियोथेरापी कक्ष, महिला र पुरुषका लागि ३-३ वटा कपडा फेर्ने कोठा, प्राथमिक उपचार कक्ष, दुईवटा टिम लकर लगायतका सुविधा रहनेछन्। सानो गौचरण फुटबल स्टेडियम १८ रोपनी एक आना दुई पैसा तीन दाम क्षेत्रफलमा निर्माण हुँदैछ।