
काठमाडौं, फाल्गुन १ गते
कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा. हेमराज पन्तलाई धनगढीमा २०८१ साल माघ ३० गते नागरिक अभिनन्दन गरिएको छ। धनगढी उपमहानगरपालिकाले प्राध्यापक डाक्टर पन्तलाई आज बिहान ८ बजे नागरिक अभिनन्दन गरेको हो। शिक्षा क्षेत्रमा पन्तले पुर्याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको नगर प्रमुख गोपाल हमालले बताएका छन् ।
धनगढी उपमहानगरपालिकाको संयोजनमा पन्तलाई आज धनगढीको ट्राफिक चौराहाबाट बाजागाजा सहित रथरोहण गरी पार्क मोडमा आयोजित एक कार्यक्रमका बीच अभिनन्दन गरिएको हो। नगर प्रमुख गोपाल हमालले माला खाँदा र सम्मानपत्र सहित पन्तलाई अभिनन्दन गरेका हुन् नगर प्रमुखले शिक्षाविद पन्तले २०३७ सालदेखि हालसम्म धनगढीमा कर्मथलो बनाएर सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मान गरिएको बताए ।
धनगढी स्थित पञचोदय माध्यमिक विद्यालयमा कैलाली वाणिज्य क्याम्पसको अध्यापन सुरु गराएर शिक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पन्तलाई अभिनन्दन गरिएको हो। पन्तले २०३७ साल माघ १ गतेदेखि कैलाली क्याम्पस पढाउन थालेका थिए । १४५ विधार्थीबाट सुरु गरिएको कैलाली वाणिज्य क्याम्पसलाई २०३८ सालबाट कैलाली बहुमुखी क्याम्पस नामाकरण गरिएको थियो । भारतबाट विध्यावारीधी गरेका पन्त २०४५ सालबाट कैलाली बहुमुखी क्याम्पसको प्रमुख नियुक्त भएका थिए र २०६६ सालसम्म प्रमुख रहेका थिए । पन्तलाई सुदुर पश्चिमको शिक्षाको धरोहरको रुपमा हेरिन्छ । डोटी जिल्लाको उच्चाकोटमा २०११ साल फागुन २१ गते जन्मेका पन्तका बुवा आयुर्वेद आचर्य थिए |