
काठमाडौं, माघ ३० गते
असन चोकमा रहेको ऐतिहासिक सम्पदा हो इता चपा, विसं १९९० को भूकम्पलाई थेगेको यो सम्पदा, २०७२ सालको महाभूकम्पमा क्षतिग्रस्त हुन पुगेको थियो। यो सम्पदा काठमाडौँमा पुरानो समयदेखि भारत र चीन बीचको व्यापारिक केन्द्र थियो भन्ने प्रमाण पनि हो। नेपालको काठमाडौँले भारत र चीनबाट आउने व्यापारीहरूको सामानहरूको आदान प्रदान गर्ने थलो वा व्यापारिक केन्द्र अथवा ट्रान्जिट पोइन्टको काम गर्दथ्यो । यस इता चपामा ल्हासाबाट आउने व्यापारीहरू आएको १० दिनसम्म बस्ने गर्दथिए। त्यो समयमा यसलाई क्वारेन्टिन सेन्टर जस्तो गरी उपयोग गर्ने गरिएको स्थानीयहरू बताउँछन्। यात्राका क्रममा या आफ्नो बासस्थानबाट व्यापारीहरु मार्फत कुनै रोगको संक्रमणको जोखिम नरहोस् भनेर यहाँ एकान्तवास बसाउने गरिएको बताइन्छ । २०४० सालसम्म पुरानो परम्परा कायमै रहेको स्थानीयहरू सम्झन्छन ।
काठमाडौँ महानगरपालिकाको २७ नम्बर वडा कार्यालय मार्फत यसको पुननिर्माणको काम अघि बढीरहेको छ । ऐतिहासिक सम्पदाको पुननिर्माणमा २ करोड ४९ लाख ३७ हजार लाग्ने अनुमान गरिएको छ ।
यस सम्पदामा विजयादशमीको अर्को दिन जीवित देवी कुमारीलाई खाना खुवाउने प्रचलन रहेको छ भने सोही दिन असन क्षेत्रमा अन्नपूर्णको जात्रा चल्ने गर्दछ। यस ऐतिहासिक सम्पदालाई तीन वर्षमा पुननिर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ। २०७२ सालको महाभूकम्पले भत्किएको ऐतिहासिक महत्त्वको इटा चपा भूकम्प गएको नौ वर्षपछि पुननिर्माण थालिएको छ समयमै काम सम्पन्न भएमा भत्किएको 12 वर्षपछि यो सम्पदा फेरि तयार हुनेछ ।