
काठमाडौं, माघ २९ गते
विभिन्न मितिमा हराएका २० ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले मिति २०८१।१०।२८ गते सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विनोद घिमिरेले १२ ओटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नु भएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँको पेप्सीकोला, काँडाघारी, फर्पिङ, कालिमाटी, लैनचौर, गौशाला, धर्मस्थली, नयाँबसपार्क र बौद्ध लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो | सवारिधनीलाई बुझाइएका २० ओटा सहित ३०३ ओटा सवारी साधन साउन महिनादेखी माघ २८ ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ३३ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ४८ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । बुझाईएका २० ओटा सवारी साधनहरु हराएको भनी विभिन्न मितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेका थिए । सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।आर्थिक वर्ष २०७९/०८० मा ४९९ ओटा र ०८०/०८१ मा ४१७ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो । सवारी साधन चोरी नियन्त्रण गर्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक,लगायत सुरक्षा साइरनहरु जडान गरी अध्यारो तथा एकान्त स्थानमा पार्किङ नगर्न जानकारी गराईएको साथै आफ्नो सवारी साधनमा Gps tracker fit गर्न पनि कार्यलय प्रमुख प्र.ब.उ. विनोद घिमिरेले अनुरोध गर्नुभएको छ । यति गर्दा पनि चोरी भईहालेमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा लिखित निवेदन दिन सकिने छ ।