Ray 4U
स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति स्वदेश फिर्ता

अषाढ ५, राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर आज  स्वदेश फर्किनुभएकाे छ । राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका उच्च पदस्थहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएकाे थियाे ।


स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उदघाट्न सत्रलाई जेठ ३१ गते राष्ट्रपति पौडेलले मुख्य वक्ताका रुपमा सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा उहाँले श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल गर्नुभयो । साथै वैदेशिक रोजगारीमा गएका नेपाली युवा जनशक्तिलाई सम्मानपूर्ण व्यवहार गर्न अपिल गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “विकासशील मुलुकका युवाहरू कामको खोजीमा श्रम गन्तव्य मुलुकमा जाने क्रम बढ्दो छ । यस तथ्यलाई मध्यनजर गर्दै विश्वका सबै मुलुकहरूलाई म अपिल गर्न चाहन्छु कि वैदेशिक रोजगारीमा गएका श्रमिकको कामको कदर गर्दै उनीहरूलाई स्वदेशी कामदार सरह व्यवहार गरियोस् ।”

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ । राष्ट्रपति पौडेलले जहाँ रहेपनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुरयाउन सबै नेपालीलाई आव्हान गर्नुभयो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जर्मन र स्वीट्जरल्याण्डको भ्रमण अन्यन्त सफल तथा फलदायी रहेको बताउनुभयो । राष्ट्रपति पौडेलका परराष्ट्र सल्लाहकार डाक्टर सुरेशराज चालिसेले यस भ्रमणले बदलिदोँ परिवेशमा नेपालको सम्बन्ध विश्वस्तरमा विस्तार र सुदृढ गर्न महत्वपूर्ण सन्देश प्रवाह गरेको बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update