
काठमाडौं, पुस ५ गते
कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्नेका लागि बोलपत्र आह्वान गरिएको कुरा प्रधानमन्त्री के. पि. शर्मा ओलीले सामाजिक सञ्जालमा पोस्ट गर्नु भएको छ | उँहा लेख्नु हुन्छ " क्रिकेट हाम्रो युवा समाजको प्राण हो । क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौं। यसको लागि पर्याप्त ध्यान दिएर सुरुमै पारस खड्का सहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल पनि गर्यौँ । त्यसबेला क्यानका पदाधिकारीहरुले पनि बरु अलि समय दिएरै विश्वस्तरको रंगशालाको राम्रो डिजाइन गरौं, हतार नगरौं भन्ने सल्लाह दिनु भएको थियो। जग्गा प्राप्ति लगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचे भन्दा बढी समय लाग्यो। त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो । आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ। अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्ने छ। यसलाई विश्वस्तरको बनाउने प्लान भने त्यसपछि पनि जारी रहने छ। काम छिटो सक्न र आवश्यक सुझाव तथा खबरदारी गर्न सबैलाई अनुरोध गर्छु। "
त्रिवी क्रिकेट मैदानमा प्याराफिट निर्माण र फ्लड लाइट जडान गर्नका टेण्डर आह्वान गरिएको छ | फ्लड लाइटका लागि एक करोड ७३ लाख र प्याराफिट निर्माणका लागि एक करोड ६२ लाख वित्तिय ग्यारेन्टी तोकिएको छ | माघ ६ गतेसम्म टेण्डर पेस गर्न सकिनेछ भने टेण्डर सोही दिन साढे १ बजे खोलिने जनाईएको छ |