जेष्ठ २९, काठमाडौँ । नक्सालमा रहेको नन्दीकेशर बगैँचा परिसरमा नक्साल ढुङ्गेधारा (गाःहिटी) पुनरुत्थानमा समस्या पहिचानको चरण सकिएको छ । यसको सङ्रक्षणमा अबरोधहरुको पहिचान २०८० असोज महिनाबाट सुरु भएको थियो । त्यस बेला महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) हिति आसपासका क्षेत्रमा गएर पूर्वावस्थाका बारेमा जानकारी र विद्यमान अवस्थाका बारेमा स्थानीयसँग छलफल गर्नुभएको थियो । यसका ३ वटा मुख्य समस्या उजागर भएका थिए । जस्तै पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचनाको पुनःनिर्माण गर्ने । वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार प्राचीन स्मारक जोगाउन अहिले भएको काम चानचुने होइन । यसबाट ढुङ्गेधाराको संरचनासँगै जल सम्पदाको पुनरुत्थान हुनेछ ।
हिटीको मुल समस्याको रुपमा, निकाश थुनिनु देखियो । स्थानीयहरु सँगको छलफलमा मुख्य रुपमा ३ वटा निकास थुनेको पत्ता लाग्यो । ‘स्थानीयले दिएको सूचनाका आधारमा निकास खोज्दा घरले थुनेको भेटिएपछि हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना तिराएर जरिवानाबाट प्राप्त रकमबाट निकास खोलिसकिएको छ ।’ प्रमुखका सचिवालय सदस्य विनय शाक्यले पानीको निकास सम्बन्धी समस्या समाधान भइसकेको जानकारी दिनुभयो । निकास खोलियो, अबको काम मुहान खोज्ने र भौतिक पूर्वाधार पुनरुत्थानको काम गर्ने हो, शाक्यले योजना सुनाउनुभयो ।
सरकारी विवरणले विगत ४० बर्षअघिदेखि यहाँ पानीको निकास बन्द भएको देखाउँछ । यो हिटी वि. सं. ६७८ मा स्थापना भएको दस्ताबेजहरु रहेका छन । वि. सं. २०५८ सालमा निकास खोल्ने क्रममा एक जनाको मृत्यु भएपछी कुनै प्रयास भएको थिएन । यसपाली बालेनले स्थानियहरु सँग मिलेरे काम गर्दा महानगरले एतिहासिक सफलता प्राप्त गरेको छ ।