काठमाडौं, भदौ २८ गते
येँया (इन्द्रजात्रा) को मौलिकता बचाउन काठमाडौँ महानगरपालिका अभिभावकीय भूमिकामा
येँया (इन्द्रजात्रा) को मौलिक परम्परामा कमी हुन नदिन काठमाडौँ महानगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्ने भएको छ । इन्द्रजात्रा व्यवस्थापन समिति तथा गुथिहरुसँग समन्वय गर्ने, जात्रा सञ्चालनका लागि रकम निकासा दिने, मौलिक बादन, गायन, नृत्य, सृङ्गार, खानपान तथा क्रियाकलापको नियमित सञ्चालनमा प्रोत्साहन गर्ने तथा प्रवर्धन गर्ने काम गरिरहेको छ । यस क्रममा येँया ११४४ का अवसरमा महानगर विशेष कार्यक्रम मूल समारोह समितिले आज हनुमानढोकाको लोँह चोकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘स्थानीय मौलिक जात्रा पर्व जोगाउन स्थानीय सरकारलाई प्राप्त भएको जिम्मेवारी महानगरपालिकाले पूर्ण रुपमा निर्वाह गरिरहेको छ । आगामी दिनमा पनि गर्नेछ ।’