काठमाडौं
मंसिर ८ र ९ गते काठमाडौँमा ‘वुमन्स अफ द वर्ल्ड फेस्टिभल’ आयोजना हुने भएको छ | यो फेस्टिभलमा १० हजार महिलाहरुलाई सहभागी गराउने लक्ष्य रहेको छ | उपप्रमुख डंगोलले, नेपाली महिलाहरुको सहनशीलतासँग सम्बन्धित नभनिएका, नसोधिएका र नसमेटिएका कथाहरु प्रदर्शनलाई जोड दिइने बताउनुभयो । गएको जेठ महिनामा वेलायतमा आयोजना भएको सम्मेलनमा भाग लिएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘महिलाको अर्थपूर्ण सहभागिताका लागि नेतृत्वमा रहेका महिलाहरुबाट प्रेरणा प्राप्त भएको छ । यसका आयाम धेरै छन् । तीमध्ये राजनीतिक सक्रियताले पनि सशक्तिकरण प्रदान गर्छ ।’
काठमाडौँ महानगरपालिका र व्रिटिस काउन्सिलले संयुक्त रुपमा फेस्टिभलको आयोजना गर्नेछन् । विहीबार काउन्सिलमा आयोजना गरिएको एक कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र काउन्सिल कन्ट्री डाइरेक्टर सहिदा म्याकडुगलले फेस्टिभलको संकेत चिन्ह सार्वजनिक गर्नुभयो । सन् २०११ मा लण्डनको साउथ वैङ्कमा पहिलो सम्मेलन गरिएको थियो । लैङ्गिक समानता र समावशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउनु फेस्टिभलको मुख्य लक्ष्य हो ।