काठमाडौ, नेपालले आर्थिक वर्ष २०८०/८१ मा रु १६ अर्ब ९३ करोड रुपैयाको विद्युत भारततर्फ निर्यात गरेकोछ । नेपाल विद्युत प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरेर यो आम्दानी गरेको हो । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचेँको विद्युत भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिरहेको छ । निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ८.७२ रुपैयाँ छ । नेपाल विद्युत प्राधिकरणले गत आवमा रु १६ अर्ब ८१ करोड तीन लाखको विद्युत् आयात गरेको जनाएको छ । सुक्खायाममा देशभित्रका नदी प्रवाही जलविद्युत्गृहबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गत आर्थिक वर्षमा भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको हो । हिउँदयाममा आयात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ९.१७ रुपैयाँ छ । गत आर्थिक वर्षमा आयातभन्दा रु १२ करोड २३ लाखको बढी विद्युत भारततर्फ निर्यात भएको तथ्याङकले देखाउछ ।